मेरो मणि
———
प्रिय मणि
प्रत्येक पल
म तिमीलाई बेस्सरी सम्झन्छु ।
अथाह पीडाले छट्पटिएको बिरामीले
“मृत्यु” सम्झिए जसरी,
निसन्तान आमाले
“भ्रूण” छ कि भन्ने आशमा,
घरि–घरि आफ्नो पेट छामे जसरी
म तिमीलाई बेस्सरी सम्झन्छु ।
किताब पढ्दा पढ्दै
अनेकौं प्रेमिल कथाहरुमा
म तिमीलाई नै देख्छु मणि !
कपालका चुल्ठाले चमेलीका फूलहरुलाई
सम्झिए जसरी,
मस्त यौवनले ढकमक्क भएकी सुन्दर स्त्रीले
परदेशमा रहेको श्रीमान् सम्झिए जसरी
म तिमीलाई बेस्सरी सम्झन्छु ।।
हरेक बिहान
म तिम्री नीलिमा बनेर ब्युँझन्छु,
हामी सँगै नभएर के भो र
म तिम्रै हुँ मणि ।
भन्नेलाई भन्न देऊ प्रिय
तिमी मेरो विश्वास गर,
म देवकोटाकी “मुना” होइन
म सत्यमोहनकी “बाँला मैचा” होइन
म दा भिन्चीकी “मोनालिसा” होइन
म सेक्सपियरकी “जुलियट” पनि होइन
म नगरकोटीकी “मिस्टिका” त झन् हुँदै होइन
म त मेरै गालवकी प्रेमिका “माधवी” हुँ ।।
अचानक,
तिमी कतै हरायौ
मेरो अदृश्य प्रेमी बन्यौ।
ठिकै छ,
तिमी घाम बन या त शितल छहारी बन
तिमी घनघोर वर्षा बन या त चिसो बतास बन
तिमी त्यो बन
जो म महसुस गर्न सकुँ ।
मणि,
तिमी एउटा सुघन्धित आभाष बन
अनि
मलाई छोऊ
र
तिम्रो देहबासना मेरो शरीरभरि पोखिदेऊ ।
झमझम पानीमा रुझेर
इन्द्रेणीका रङ्गहरू सापटी माग्दै
म तिम्रै चित्र कोरिरहेछु ।
प्रिय मणि,
माथिबाट तिमी मलाई बोलाऊ
र
सबैले सुन्ने गरी भनिदेऊ,
“ओइ नीलिमा, तँ मेरी होस्
म पनि त तँलाई बेस्सरी सम्झिरहेछु,
तँ अलिकति पनि पीर नगर्,
तेरो ओठको मुस्कान बनेर
म जुगौँ जुग बाँचिरहने छु ।
तेरो अमूल्य मणि हुँ म
तैँले कोरेको चित्रमा म सदा अमर रहनेछु ।”