किरायाको कोख शङ्करदेव ढकालको तेस्रो उपन्यास र नवौं कृति हो । नेपाली साहित्यमा चिरपरिचित लेखक ढकालका कृतिहरुमा सिक्किमका रैतिहरुले भोगेको व्यथा र त्यस समयको व्यवस्था, भारतको स्वतन्त्रता, गोर्खालीहरुको वीरता र त्याग, बलिदान र देशभक्तिलाई उत्खनन् गरिएको पाइन्छ । भुटानी शरणार्थीहरुसँग सम्बन्धित लिखित रुपमा आएको यो पहिलो उपन्यास हो । सन् २०१८ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सिक्किमबाट प्रकाशित भएको यो किताबले सन् २०२० को साहित्य अकादमी पुरस्कार प्राप्त गरेको हो। शरणार्थीहरूको जीवनमा आधारित यो किताब एक पटक पढ्नैपर्ने किताबको रुपमा साबित भएको छ ।
भुटान दक्षिण एसियामा पर्ने एउटा बौद्ध राष्ट्र हो । यो देशको इतिहास धेरै पुरानो छ । इतिहासकारहरूको भनाई अनुसार लगभग २००० वर्ष इशापूर्व यो देशमा भारतीय सभ्यता थियो । पहिला सातौं शताब्दीमा यस देशमा कोच राजा साङ्गलदीपको राज्य थियो भने नवौं शताब्दीमा तिब्बतबाट लखेटिएका बोन लामाहरू आएर बसोबास गर्न थाले । सिक्किममा दोस्रो राजा तेन्सुङ नामग्यालले जेठी महारानी भुटानकी राजकुमारीलाई बनाएका थिए र यसरी भुटान र सिक्किमको सम्बन्ध पारिवारिक हुन पुग्यो । भुटान शब्द ब्रिटिसहरूले नामाङ्करण गरेको शब्द हो । यसअघि भुटानलाई ‘लोमेन’ अर्थात् तिब्बती भाषामा दक्षिणको अन्धकार प्रदेश भन्ने गरिन्थ्यो । यसलाई ‘मोनयुल’ पनि भन्ने गरिन्थ्यो ।
कापुङको (अहिलेको कालेबुङ) बम बस्तीलाई कैंदले नामले जानिन्थ्यो । सोही कैंदले बस्तीको माझ गाउँमा बसोबास गर्ने कस्तुरीको जीवनकथा हो किरायाको कोख । यस कथाकी प्रमुख पात्र हो कस्तुरी । भुटानबाट खेदाइएपछि नेपालको शरणार्थी शिविरमा बस्दथे कस्तुरीका परिवार । त्यस शिविरमा अन्तर्राष्ट्रिय संस्थाहरुले स्कुल र अन्य सुविधाहरु उपलब्ध गराएका थिए । कस्तुरीका दाजुहरूले शिविरमै सानो काम पाएका थिए । त्यै शिविरको स्कुलमा कस्तुरीले पनि दश कक्षासम्म पढिन् । अन्तर्राष्ट्रिय शरणार्थी उच्च आयुक्तबाट खटाइएका कारिन्दाहरुसँग कस्तुरी मजाले अङ्ग्रेजीमा कुरा गर्न सक्थिन् । त्यसैले उनलाई शरणार्थी सहायता केन्द्रमा सह–सम्पर्क सहायकको सानो काम मिल्यो । कस्तुरी एउटा यस्ती पात्र हो जसको जीवनको एक पक्षलाई लिएर भुटाने शरणार्थीको चुनौती र कठिनाइहरुलाई यस कथाको माध्यमबाट बुझ्न सकिन्छ ।
कस्तुरीका परिवारले पाएको दुःख त छँदै छ, त्यस बाहेक पनि कथामा अरु मन छुने घटनाहरु पनि घटेको पाइन्छ । कस्तुरीकी आमालाई क्यान्सर हुन्छ । उपचारका लागि धेरै पैसा लाग्ने भएपछि कस्तुरीले उक्त समस्या आफ्नो अफिसमा सुनाउँछिन् । आफ्नो बोस हेनरी र उनकी श्रीमतीले उक्त उपचारमा लाग्ने सबै खर्च ब्यहोरिदिने भए । यो खबरले ऊ केही समय खुसी त हुन्छे तर यसको बदलामा हेनरी र नेन्सीले कस्तुरीको कोखको माग गर्छन् ।
हेनरी जर्क – बेलायती अमेरिकन धेरै सम्पन्न र ठूलो घरानाको छोरो थियो । १९८२ मा सोभियत भूमिको चिर्नोभेल अनु–प्रवासमा अन्तर्राष्ट्रिय सहयोगको लागि संयुक्त राष्ट्रको सेवादलमा गएको बेलामा बिजुली उत्पादन गर्ने कारखानामा दुर्घटना हुँदा त्यस संयन्त्रका वरिपरि बस्ने जनजीवनमा घातक असर परेको थियो । त्यसबेला हेनरी पनि अन्तर्राष्ट्रिय संस्थाको दुर्घटना व्यवस्थापन र पुनर्वास अधिकारी भएकोले त्यहाँ गएका थिए । त्यस दुर्घटनाको असरले उनीबाट सन्तानको बुवा बन्ने अधिकार खोसेको थियो । उनी नपुसंक भएका थिए । हेनरी र नेन्सीलाई छोरा छोरीको धेरै रहर थियो । उनीहरूलाई आफ्नो सन्तान पूर्वीय नभई पश्चिमी वर्णको चाहिएको थियो । हेनरी आफू सामथ्र्यवान नभएको र नेन्सीले पनि पर–वीर्य प्राप्त गरेर कोख सम्हाल्ने समय बितिसकेकोले उनीहरुले आफ्नो स्वार्थको कारण बिरामीको निःशुल्क उपचार गराउने निर्णय गरेका रहेछन् ।
आफ्नी आमाको लागि कस्तुरी कृतिम गर्भधारण गर्छिन् । आफ्नी आमाको खातिर मान्छे कुन हदसम्म आफ्नो अस्मिताको बाजी राख्न तयार हुन्छ भन्ने कुरा यस कथामा पाइन्छ । त्यस्तै, अर्को दृष्टिकोणबाट हेर्ने हो भने निसन्तानलाई सन्तानको मोह कति हुँदो रहेछ भन्ने कुराको पनि पुष्टि हुन्छ । यो एउटा मुख्य घटनाले नै किताबको नाम किरायाको कोख रहन गएको मैले पाएँ । कस्तुरीकी आमाको उपचार पहिलो भागमा सफल हुन्छ तर दोस्रो भागमा फेरि घाउ बल्झिन्छ । फेरि पनि उपचारको खर्च जुटाउन कस्तुरीले दोस्रो पटक पनि कृतिम गर्भधारण गर्छिन् ।
घटना र पात्रहरु उतिबेलाका काल्पनिक भएपनि अन्य तरिकाले यो कथामा वैज्ञानिक पद्धति र विकासको पनि वर्णन भएको पाइन्छ । कृतिम गर्भधारण अर्थात् सरोगेसीको चर्चा यहाँ गरिन्छ । सरोगेसी प्रक्रियाकै मार्फत कस्तुरीले दुईपटक बच्चा जन्माउँछिन् र त्यसको बदलामा उनले आफ्नी आमाको उपचार गर्छिन् । कथाको अन्त्यमा गएर उनको भेट आफ्ना सन्तानहरूसँग हुन्छ नै तर पनि सरोगेट मदरको भूमिका निर्वाह गर्ने कस्तुरी र उसको बाध्यतालाई केन्द्र बिन्दु बनाई भुटाने शरणार्थीहरूको बाध्यतालाई बिम्वित गरेको पाइन्छ ।
भुटानका शरणार्थीहरुले आफूले पुजेकी जननी भुटानलाई छोडेर बिल्लीबाठ हुनु परेको कथा र एउटी कुमारी केटीको व्यथाले पाठकलाई धेरै ठाउँमा मुर्छा पार्छ । कतिपय ठाउँमा एकदुई वटा सन्दर्भ अपाच्य पनि लाग्छन् । एउटै घटना दोहोरिनु पाठकलाई अस्वभाविक लाग्न सक्छ । बारम्बार एउटै घटनातर्फ कथालाई मोड्दा पनि पाठकहरुले मनोरञ्जन लिन सक्दैनन् । कथा पनि अलिक पट्यारलाग्दो बन्छ । लेखन शैलीको हिसाबले पनि यो कथा अलि बढी कूटनीतिक र अलि कम सरल छ । लेखक श्री ढकालले किरायाको कोखमा शरणार्थीहरूको जीवनमा यस्तै घटनाहरूले सताएको पनि थियो कि भन्ने भान पारेका छन् । उनले सामग्रीको चयन प्रक्रियालाई मध्यविन्दु बनाएर यसको गठन, पात्रहरूको छनोट सँगसँगै उपन्यासमा कथाहरूको विकास गरेका छन् । यस उपन्यासमा कला पक्ष र भाव पक्ष पाइन्छ जसले उपन्यासको उद्देश्यलाई पूर्ण रुपमा सन्तुलित राखेका छन् । एक बलिष्ठ नायिकालाइ मूल पात्र बनाई अरु पात्रहरुलाई पनि उनकै वरिपरि घुमाएर बुनेको उपन्यास गहिरो मानसिक बेदनालाई थिचेर पाठकमाझ आएको छ ।
सिन्धिया श्रेष्ठ