मौलाकालिका अस्पतालको चरम लापरबाहीले बिरामीको मृत्यु भएको स्वीकार गरेको छ। मृतकका आफन्त र अस्पताल प्रशासनका बीचमा भएको वार्तामा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई कारबाही गर्ने सहमति भएको छ । माडी–५ का रामप्रसाद तिवारीको उपचारको क्रममा मृत्यु भएको थियो। मौलाकालिका अस्पतालमै रड हालेका उनी ४५ दिनपछि रड झिक्न आएका थिए ।
खुट्टामा रड राखेका माडी–५ का रामप्रसाद तिवारी मंगलबार रड निकाल्न अस्पताल भर्ना भएका थिए । मृतक तिवारी चितवन राष्ट्रिय निकुञ्जको बघौडा मध्यवर्ती उपभोक्ता समूहका अध्यक्ष हुन् । अस्पतालका प्रबन्ध निर्देशक डाक्टर केशवराज भुर्तेलले हस्ताक्षर गरेको सहमति पत्रमा खुट्टा भाँचिएर लगाएको स्टिल निकाल्नको लागि लठ्याउने क्रममा अस्पतालबाट अपनाउनुपर्ने सबै सुरक्षाका उपायहरु नअपनाएका कारण बिरामीको मृत्यु भएको उल्लेख गरिएको छ ।