उमेश खड्का- होइन। पक्कै पनि होइन। कुनै पनि कलेज या युनिभर्सिटी पढ्न निश्चित मापदण्डहरू पूरा गरेको हुनुपर्छ। जस्तै: शैक्षिक, भाषिक तथा आर्थिक रुपमा सबल एवम् सक्षम। रह्यो अष्ट्रेलियाको हदमा किन अहिले भिजा रिफ्युजल बढिरहेको छ? अझ भन्ने हो भने भोकेसनल (Vocational Education and Training-VET) कोर्षमा तुलनात्मक रूपमा धेरै भिजा रिफ्युजल देखिएको छ। यस्ता कोर्सहरू बजारको आवश्यकता अनुसार छोटो समयमा सिपयुक्त जनशक्ति तयार गर्न केन्द्रित हुन्छन्। उच्च शिक्षामा (Bachelor/Master) भिजा ग्राण्ट भने भैरहेको छ । के यसको मतलब भिजा लाग्न उच्च शिक्षा नै पढ्नुपर्छ त ? मेरो बुझाइमा त्यस्तो होइन। कुन विषय र स्तरमा पढ्नको लागि आवेदन दिने भन्ने कुरा नितान्त रुपमा आफ्नो शैक्षिक पृष्ठभूमि, भाषिक दक्षता, पारिवारिक आर्थिक अवस्था, भविष्यको योजना एवम् व्याक्तिगत चाहनामा भर पर्ने कुरा हुन्।
यद्यपि भोकेशनल कोर्समा आवेदन दिनेहरूको रिफ्युजल धेरै भएको तर हाइयर एजुकेशनमा (विशेष गरि युनिभर्सिटिमा) आवेदन दिनेहरूको चाहिँ भिषा लागिरहेको छ। आखिर त्यस्तो किन भयो त? भोकेशनल कलेजहरू मध्ये पनि TAFE मा इनरोल गर्ने अधिकांशको भिजा आइरहेको कुरा सम्बन्धित अधिकारीले हालै हामीसँगको भेटमा बताएका थिए। किन यस्तो भइरहेको छ त? मुख्य बुझ्नु पर्ने कुरा यहाँ छ।
पहिला कुरा यस्तो हुनसक्छ। प्राय: हाइएर एजुकेशनको लागि एप्लाई गर्ने विद्यार्थीले शुरूमै आफूलाई प्रमाणित गर्नुपर्ने हुन्छ कि उ त्यो कलेज अथवा विश्वविद्यालय पढ्नका लागि सबै हिसाबले सक्षम छ । अर्को भाषामा भन्दा अष्ट्रेलियाले विद्यार्थी भिजा प्राप्त गर्नको लागि निर्धारण गरेका प्रायः मापदण्डहरू पुरा गरेर मात्र उनिहरूले विद्यार्थीको आवेदनलाई स्विकृत गर्दछन् । यस्ता मापदण्डहरूलाई Genuine Temporary Entrant (GTE) criteria भनिन्छ । कमजोर शैक्षिक पृष्टभूमी भएको, भविष्यको स्पष्ट योजना र आर्थिकरूपले सवल नदेखिएको विद्यार्थी यहि चरणमा फिल्टर हुने हुन्छन्। युनिभर्सिटिहरूले डकुमेन्ट अलिक कडाइका साथ हेर्छ। विद्यार्थीसंग इन्टरभ्यू लिने देखि उपलब्ध गराएका डकुमेण्टहरूको क्रस भेरिफिकेसन गर्ने सम्मका कामहरू हुन्छन्। जसले गर्दा हाईकमिसनले पनि त्यस्तो धेरै शंकाको दृष्टीले नहेरी भिजा दिने आधार बन्न सक्छ।
केही निजी कलेजहरूले पनि विश्वविद्यालयको जस्तै मापदण्डहरू लागु गरेर विद्यार्थी इनरोल गर्ने गर्दछन् जसको भिजा अप्रुभल राम्रो देखिन्छ । High Commission ले विद्यार्थीले रोजेको संस्था र तिनिहरूले लागुगरेको GTE screening criteria लाई भिजाको निर्णय गर्दा निकै महत्व दिएको देखिन्छ ।
तर अधिकांश निजी कलेजहरू जसले प्रायः भोकेशनल कोर्सहरू पढाउछन्, धेरै भन्दा धेरै विद्यार्थी भर्ना गर्ने (सिट क्षमता अनुसार) र खुकुलो मापदण्ड अपनाएको देखिन्छ । यहि लचकतालाई प्रयोग वा दुरुपयोग गरेर अधिकांश विद्यार्थी तथा एजेन्सीहरूले अस्वाभाविक संख्यामा भिजाको लागि आवेदन दिएपछि अहिलेको अवस्था सृजना भएको हो। कोभिड महामारीका कारण लगभग २ वर्ष अष्ट्रेलियाको बोर्डर प्राय बन्द भयो । बोर्डर खुला भइसकेपछि यहाँ उपलब्ध कामको अवसरले गर्दा धेरै मानिसहरूले संसारभरी बाट विभिन्न भिजाका लागि आवेदन दिन थाले । यहाँका कलेज तथा विश्वविद्यालय र सम्बन्धीत व्यवसायीहरू बढि भन्दा बढि विद्यार्थी भित्र्याउने होडमा लागे। बोर्डर भर्खर खुलेको बेला High Commission ले लचिलो मापदण्ड अपनायो। अधिकांश भिजाहरू अप्रुभ पनि भए। निजी कलेजहरू हौसिए। कन्सल्टेन्सीहरू पनि यो मौकाको भरपूर उपयोग गर्नेतर्फ लागे। विद्यार्थीहरू पनि आफ्नो वास्तविक क्षमता विर्सिएर लहै लहैमा लागे।
सामन्यतया अष्ट्रेलियामा बिस्वास भन्ने कुराको ठुलो भ्यालु हुन्छ। आफ्ना कुराहरुको सेल्फ डिक्लरेसन गर्यो भने त्यसलाई पनि बिश्वास गर्छ। अहिले नेपाली बिद्यार्थीहरू माथि High commission ले यही कुराको संकट देखेको छ। विद्यार्थीहरूले उपलब्ध गराएका कागजातहरूको विश्वसनीयतामाथि प्रश्न उठाएको छ। डकुमेण्टहरू प्रमाणिकरण गर्दा एक पछि अर्को फ्रड देखिने गरेको High commission ले जनाएको छ।
त्यसैले अहिले केही दिन अघिबाट s56 Request for More Information notification पठाइरहेको छ जसको कारण अधिकासं विद्यार्थी त्रासमा छन्। आफूले उपलब्ध गराएका डकुमेण्टहरू original हुन् भने आत्तिनु पर्ने केही छैन। देखाउन, बनाउन सकिने सहयोगी डकुमेण्टहरू सक्दो छिटो इमानदार पूर्वक बनाउनु र नसक्ने वा अपूरो भएका डकुमेण्टहरूको बारेमा किन वा के कारणले बनेन राम्रो संग स्टेटमेण्ट लेखेर attach गर्नु भयो भने Case Officer कन्भिन्स हुन सक्छन्।
सपोर्टिभ डकुमेन्ट माग्नु स्वभाविक छ। कुनै मानिसले आफ्नो आम्दानी उसको काम या व्यवसायबाट देखाएको छ भने त्यसलाई तिमिले कमाएको या प्राप्त गरेको प्रमाण देउ भन्नु गलत होइअ र त्यो जाँच गर्नु स्वभाविक हो। अध्ययन अवधि सम्मको लागि अप्रुभ भएको लोन वा डिपोजिट विद्यार्थीको Tuition Fee र Accommodation को लागि सहज पँहुचमा भएको कुरा पनि आश्वस्त पार्न जरूरी छ।
तर समस्या कहाँ निर हो भने हाम्रोमा यस्तो खाले प्राक्टिस अहिले सम्म भएको थिएन। एक्कासी कसरी यो सब बनाउने ? नेपालका सरकारी निकायहरू मा High Commission ले भने जस्तो सबै कागजातहरु बनाउन झन्झटिलो वा असम्भव पनि हुनसक्छ। कहिँकतै मागे जस्तै डकुमेण्ट बनाउन सकिएन भने यो कारणले मैले यति देखाएँ, अरु देखाउन सकिनँ भन्नुस। डिक्लिएर् गर्नुस्। जसले गर्दा तपाईको भिजा कुनै कारणवश रिफ्युजल भयो भने पनि बोगस डकुमेण्टको लान्छना लगाएर लामो समयसम्म अष्ट्रेलिया अप्लाइ गर्न नपाउने/व्याण्ड गर्ने जस्ता कुराबाट बच्न सकिन्छ।
कन्सल्टेन्सीको भुमीका के?
एजुकेशन कन्सल्टेन्सीले पनि जेन्युन डकुमेण्टको महत्व के हो? कसरी जेन्युइन डकुमेण्ट बनाउने? कस्ता डकुमेन्ट भयो भने अष्ट्रेलियाको GTE requirements meet हुन्छ भन्ने कुरा इमानदारीताक साथ भनिदिनु पर्दछ। न कि बल्ल बल्ल विद्यार्थी आयो, यसको डकुमेन्ट लिईहालौँ जे पर्छ गर्दै गरौँला भन्ने। सबैकुरा हुन्छ हुन्छ भन्ने, ।GTE डकुमेण्ट आफै बनाइदिन्छु भन्ने जस्ता काम बन्द गरौँ। विद्यार्थीले आफ्नैबाट मात्र अप्लाइ गर्नु पर्छ भन्ने भन्दापनि मैले उसको उज्ज्वल भविष्य र आफ्नो पेशागत मर्यादा कायम गर्नुपर्छ भन्ने सोच राख्नु अत्यन्त जरुरी हुन्छ।
अहिले अष्ट्रेलिया अप्लाई गर्ने कि नगर्ने?
यो प्रश्नको साधारण उत्तर हो तपाईंसँग अष्ट्रेलिया जाने जेन्युन कारण छ कि छैन ? यदि जेन्युन कारण छ भने अहिले High Commission ले माग्ने गरेका डकुमेण्टहरू उपलब्ध गराउन सक्ने आधार छ कि छैन? तपाईको केशको सबैभन्दा राम्रो जानकारी राख्ने व्यक्ति तपाईं मात्र हो। तपाईं GTE requirements अहिले पूरा गर्न सक्ने अवस्थामा हुनुहुन्न भने हतार नगरि तयारीमा लाग्नुस्। आफ्नो एकेडेमिक अवस्था हेर्नुस। English test को स्ट्रेन्थ बढाउनुस्। पहिले पढेको र अहिले रोजेको कोर्षको रिलेभेन्सी के छ भन्ने पहिचान गर्नुस। साथै अष्ट्रेलियामा पढेर नेपाल फर्कने आधारहरू बलियोगरी प्रस्तुत गर्नुस। अष्ट्रेलियाको अर्थतन्त्रको मुख्य आधारहरू मध्य एक अन्तराष्ट्रिय विद्यार्थीको सहज आगमन बन्द गर्ने सरकारको नीति कदापि होइन, मात्र व्यवस्थित बनाउने र साँच्चै पढ्ने उद्देश्य भएका र सक्षम विद्यार्थी भित्र्याउने उद्देश्य हो। त्यसैले आफुलाई जेन्युन प्रमाणित गर्ने आधारहरू छन् भने अष्ट्रेलियामा पढ्ने सपना त्यति टाढा छैन ।