काठमाडौँ : विश्वका सातवटै महादेशका ७ अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले दक्षिण अमेरिकी महादेशको उच्च हिमाल अकोन्कागुआको सफल आरोहण गरेका छन्।अकोन्कागुआ ६ हजार ९६१ मिटर अग्लो छ।
अर्जेन्टिनास्थित माउन्ट अकोन्कागुआको बिहीवार सफलतापूर्वक आरोहण गरेको पाण्डेले जानकारी दिए।
आरोही पाण्डेले अकोन्कागुआको शिखरमा स्थानीय समयअनुसार बिहीवार विहान ७:५० बजे चन्द्रसूर्य अङ्कित नेपाली राष्ट्रिय झन्डा फहराएका थिए।
सातै महादेशका उच्च शिखरहरुको आरोहण गर्ने अभियानअन्तर्गत पाण्डे प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय झन्डा लिई जनवरी २१ मा अर्जेन्टिनाको ब्युनस आयर्सतर्फ प्रस्थान गरेका थिए।