“बालबालिकासँग मुख्यमन्त्री” कार्यक्रम

कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा आज मिति २०८२/१०/१६ गते कमल गाउँपालिका, झापामा “बालबालिकासँग मुख्यमन्त्री” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको आर्थिक व्यवस्थापन तथा स्थानीय स्काउट कार्यालय, कमल गाउँपालिकाको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रममा बालबालिकाले प्रदेश स्काउट संरक्षक एवं कोशी प्रदेशका मुख्यमन्त्रीसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्राप्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री माननीय हिक्मतकुमार कार्कीज्यूले बालबालिकाका जिज्ञासा, सुझाव तथा अपेक्षाहरू ध्यानपूर्वक सुन्नुहुँदै उनीहरूको अधिकार, शिक्षा, सुरक्षा तथा नेतृत्व विकासका विषयमा प्रदेश सरकार गम्भीर र प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
कार्यक्रमको अध्यक्षता प्रदेश प्रमुख स्काउट तथा सामाजिक विकास मन्त्री माननीय रामप्रसाद महतोज्यूले गर्नुभएको थियो। उहाँले स्काउट आन्दोलनले बालबालिकाको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो।
कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष माननीय प्रमिला न्यौपाने तिवारीज्यू, सामाजिक विकास मन्त्रालयका उपसचिव श्री दुर्गा प्रसाद सिग्देलज्यू लगायत विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा बालबालिकाले शिक्षा, स्वास्थ्य, वातावरण, खेलकुद तथा बालमैत्री नीति सम्बन्धी विषयमा आफ्ना धारणा तथा सुझावहरू प्रस्तुत गरेका थिए। सो अवसरमा मुख्यमन्त्री कार्कीज्यूले बालमैत्री प्रदेश निर्माणका लागि प्रदेश सरकार निरन्तर रूपमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा कोशी प्रदेशभरबाट ४०० भन्दा बढी स्काउट बालबालिकाको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *