काठमाडौँ — नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको हो ।
अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ । यसपटकको जनगणनामा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ । दस वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ अर्थात १०.१८ प्रतिशतले बढेको छ ।
नेपालमा विक्रम संवत १९६८ सालदेखि जनगणना गर्न थालिएको हो । त्यतिबेला नेपालको जनसंख्या ५६ लाख ३९ हजार रहेको थियो ।