भारतलाई पराजित गर्दै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको लिगको आफ्नो अन्तिम खेलमा नेपालले भारतमाथि ३-१ गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। पहिलो हाफमा एक गोल गरेको भारतले दोस्रो हाफमा नेपालको कडा चुनौतीको सामना गर्यो ।
भारतको लागि पहिलो हाफमा २१ औं मिनेटमा अपूर्णाले गोल गरेकी थिइन्।
नेपालले दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा बराबरी गोल फर्काउन सफल भयो। नेपालकी अन्जली चन्दले नेपालको लागि पहिलो गोल गरिन्।
६९ औं मिनेटमा कप्तान प्रिति राईले पेनाल्टीमा गोल गर्दै नेपाललाई २-१ गोलको अग्रता दिलाईंन।
नेपालका लागि तेस्रो गोल खेल सकिन एक मिनेट अगि अमिसा कार्कीले गरिन्।