३१ असार, काठमाडौं । बिहीबार पाँच विद्यार्थी संगठनले विज्ञप्ति निकाल्दै ओली सरकारले यातायातमा बढाएको भाडा फिर्ता गर्न सरकारसँग माग गरेका हुन् ।
तत्काल भाडा फिर्ता नगरिए आन्दोलनमा उत्रने समेत विद्यार्थी संगठनले चेतावनी दिएको छ ।
वक्तव्य
आज २०७८ असार ३१ गते देशका जिम्मेवार पाँच विद्यार्थी संगठनको संयुक्त बैठक अखिल (छैठौं )को केन्द्रीय कार्यालय, काठमाडौंमा बस्यो । बैठकले गरेका निर्णयहरू यसै वक्तव्य मार्फत् सार्वजनिक गरिएको छ ।
१. सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडाबृद्धि गरेको छ । सरकारको यो निर्णयले नेपालको विद्यार्थी आन्दोलनलाई आक्रोशित बनाएको छ । कोरोनाले जनता थलिएको, लाखौंको रोजगारी गुमेको, जनता आर्थिक रुपमा जर्जर भएर एक पेट खाना जुटाउन समेत गाह्रो भइरहेको समयमा यति ठूलो मात्रामा भाडा बृद्धि गरिनु गरिबमारा निर्णय हो । भाडाबृद्धिले लकडाउनमा शहरबाट घर गएका विद्यार्थी पढाइमा फर्कनै नसक्ने गरी कठिनाइ उत्पन्न गराएको छ भने दीर्घकालीन रुपमा जनताको पैसा लुटेर व्यवसायीहरु पोस्ने व्यवस्था मिलाइएको छ । भाडा बृद्धिको निर्णय तत्काल खारेज नगरिएमा कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन चाहन्छौं । यसै सन्दर्भमा साउन १ गते यातायात व्यवस्था विभागमा ज्ञापनपत्र पेश गरेपछि आन्दोलनका थप कार्यक्रम घोषणा गरिनेछ ।
२. नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एक रुपैयाँ मात्रै घटाएको छ । निगमले २०७१ पछि विद्यार्थी आन्दोलनको मागलाई आंशिक सम्बोधन गर्ने प्रयास गरे पनि यो पर्याप्त छैन । निगमले एकातिर स्वचालित मूल्यप्रणालीलाई इमानदारीपूर्वक कार्यान्वयन गरेको छैन भने अरर्कोतिर विद्यार्थी सहुलियतलाई लागु गरेको छैन । तसर्थ पेट्रोलियम पदार्थमा लगाइएको कर र अन्य कतिपय असान्दर्भिक शीर्षकमा उठाउने रकम घटाएर थप मूल्य घटाउन र एलपी ग्यासमा दुई रङ्गको सिलिन्डर बनाई विद्यार्थीलाई परिचयपत्रका आधारमा तत्काल सहुलियत दरमा उपलब्ध गराउन जोडदार माग गर्दछौं।
३ . निवर्तमान शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पदबाट बिदा लिँदै गर्दा विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका कलेजहरूको ठाउँ, नाम र विश्वविद्यालय परिवर्तन (स्विचिङ्) गर्ने नाममा रातारात ठूलो आर्थिक चलखेल र अनियमिता भएको पाइएको छ । तोकिएको मापदण्ड र निर्देशिका विपरीतको अवैध प्रक्रिया तत्काल रोक्न र घोटालामा संलग्नहरुलाई छानविन गरी कार्वाही गर्न जोडदार माग गर्दछौं ।
२०७८ असार ३१ गते