काठमाडौँ । नेसनल ओपन स्काउट क्र्यूको आयोजनामा सातौं फेण्डसिप लन्च हाइक कार्यक्रम सम्पन्न भएको छ।
विश्व स्काउट स्कार्फ दिवसको अवसर पारेर आयोजना गरिएको यो कार्यक्रम काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका स्थित गीताञ्जली स्कुलबाट सुरु भई भक्तपुरको निलबाराहीमा समापन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त रविन दाहालले स्काउटिङले बालबालिकामा अनुशासन, आत्मनिर्भरता र सामाजिक चेतना विकासमा टेवा पुर्याउने धारणा राखे।
कार्यक्रममा काठमाडौँ र भक्तपुरका विभिन्न विद्यालयका स्काउट सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी स्काउटहरुले साहसिक खेलकुद, समूहगत गतिविधि र दाउरामा खाना पकाउने अभ्यास जस्ता व्यवहारिक सिकाइ अनुभव गरेका थिए।
कार्यक्रममा नेपाल स्काउटका पूर्व राष्ट्रिय तदर्थ समिति सदस्य देवदुत अधिकारीले पनि बालमैत्री र व्यवहारिक शिक्षा दिने यस्ता कार्यक्रमको प्रशंसा गरे।
प्रशिक्षक विदुर गिरीका अनुसार बालबालिकालाई माटोसँगको सामिप्यता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उनले विद्यालयका स्काउट सदस्यहरूलाई ‘आफ्नो काम आफैं गर्नु पर्छ’ भन्ने सोच विकास गराउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए।