लमजुङ सदरमुकाम बेंसीशहरमा शनिबारदेखि सुरु भएको ३३औँ संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले विजयी सुरुवात गरेको छ।
उद्घाटन खेलमा एपीएफले सुन्दरबजार फुटबल क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्यो। बेंसीशहर नगरपालिका–८ सहजीस्थित खेलमैदानमा भएको खेलमा एपीएफका समीर थोकरले खेलको २०औँ मिनेटमा गोल गर्दै टोलीको खाता खोले। उनले ३०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। ३७औँ मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई पहिलो हाफमै ३–० को अग्रता दिलाए। दोस्रो हाफको १८औँ मिनेटमा मणि लामाले चौथो गोल गरे। २५औँ मिनेटमा पुनः गोल गर्दै समीर थोकरले ह्याट्रिक पूरा गरे। ह्याट्रिकसहित उत्कृष्ट प्रदर्शन गरेका थोकर म्यान अफ द म्याच घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे। साथै, पहिलो गोल गरेबापत भुजुङ घर भई हाल हङकङ बस्दै आएका रामकुमार गुरुङको तर्फबाट नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ। यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
त्रिवेणी कप फुटबलमा एपीएफको विजयी सुरुवात